नेपाली माटोको गन्ध बोकेर विश्वमञ्चमा : आठराईकी गायिका जुनु प्रसाई

सङ्गीतलाई आत्माको आवाज मानिन्छ र यही आवाजलाई बाल्यकालदेखि नै हृदयमा बोक्दै हिँडिरहेकी छिन् ताप्लेजुङकाे आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनु प्रसाई । आठराई ह्वाकू, तेह्रथुमबाट आफ्नो शिक्षा र साङ्गीतिक यात्रा आरम्भ गरेकी उनी सानैदेखि सुर र तालको मोहमा बाँधिएकी थिइन् ।
विद्यालयको सानो मञ्चबाट शुरू भएको उनको स्वर–यात्रा आज अन्तर्राष्ट्रिय फलकमा पुगेर नेपाली गीत–सङ्गीतको गौरव बनेको छ ।
विद्यालयका कार्यक्रमहरूमा मधुर स्वर सुनाउँदै स्थानीय प्रतियोगिताहरूमा सहभागिता जनाउँदै बढ्दै गएकी प्रसाईको जीवनमा सङ्गीत केवल रुचि मात्र होइन, कर्म र उद्देश्य पनि बन्यो । त्यो सानोतिनो प्रतिस्पर्धा र तालिमहरूले उनलाई आज ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डसम्म पुर्याएको छ जहाँ उनी नेपाली कला संस्कृतिको ध्वजावाहकका रूपमा विश्वमाझ उभिएकी छन् ।
अहिले झापालाई आफ्नो स्थायी ठेगाना बनाएकी उनी पेशागत कारणले कतारमा रहेकी छिन् । तर भूमिसँगको दूरीले सपनालाई कहिल्यै टाढा हुन दिएनन् । परदेशको व्यस्तता र थकानबीच पनि उनले स्वरको साधना त्यागिनन् । कतारमै बसेर उनले नेपाली सङ्गीतप्रेमीहरूका लागि आफ्नो स्वर अर्पण गरिरहेकी छन् ।
‘मेरो भ्वाइस युनिभर्स’ मा नेपाली आत्माको आवाज छरिएका नेपाली प्रतिभाहरूलाई एउटै मञ्चमा उभ्याउने उद्देश्यले नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘मेरो भ्वाइस युनिभर्स’ इन्टरनेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेशनद्वारा आयोजना गरिएको हो ।
अडिसन चरण विश्वका १३ देशमा सम्पन्न भएको यो प्रतियोगितामा २३ देशका नेपाली मूलका गायक–गायिकाहरूको सहभागिता छ । कतार अडिसनमार्फत छनोट हुँदै गायिका जुनु प्रसाई अहिले फाइनल राउन्डको यात्रा तय गरिरहेकी छिन् ।
फाइनल चरणमा ३२ एपिसोड रहनेछ जसमा नेपाली लोक र आधुनिक सङ्गीतको विविधता, गायनशैलीको गहिराइ र प्रस्तुतिकरणको सौन्दर्यतामार्फत उत्कृष्ट प्रतिभा खोजिनेछ । यो कार्यक्रमले नेपाली गीत–सङ्गीत र संस्कृतिलाई विश्वभर फैलाउने गौरवपूर्ण अभियान बोकेको छ ।
प्रसाई भन्छिन्, ‘कतारमा रहेर पनि नेपाली सङ्गीतको सेवामा निरन्तर छु । ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा कतारका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरिरहेकी छु । अब तपाईंहरूको एक भोटले मेरो यो यात्रा अझ सशक्त हुनेछ । तपाईंहरूको स्नेह, आशीर्वाद र समर्थनको सदा अपेक्षा गरेकी छु ।’
जुनु प्रसाईका थुप्रै गीतहरू नेपाली साङ्गीतिक बजारमा लोकप्रिय छन् । उनको स्वरमा नेपालीपनको सुगन्ध, भावनाको गहिराइ र प्रस्तुतिको सौन्दर्य मिसिएको छ । परदेशमा रहेर पनि मातृभूमिको संस्कृतिको सेवा गरिरहेकी उनीजस्ता कलाकारहरूबाट साँच्चिकै नेपाली सङ्गीत र संस्कृतिकाे संरक्षण हुन्छ ।
उनको यो यात्रा केवल व्यक्तिगत सपना मात्र होइन, सम्पूर्ण नेपाली समाज र संस्कृतिको गर्व हो । जुनु प्रसाईको स्वरमा हामी सबैको आशा र अभिमान गुञ्जिरहेकै छ ।