रास्वपा सहमहामन्त्रीबाट सुमना श्रेष्ठको राजीनामा

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ पर्नुअघि बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा दिएको राजीनामाबारे आजको केन्द्रीय समिति बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।
अदालतको आदेशमा धरौटीमा छुटेर आएपछि उपस्थित भएको पहिलो बैठकमा सभापति रवि लामिछानेले पार्टीको व्यापक पुनर्संरचना गर्ने बताएलगत्तै सुमनाले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको थियो । तर लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले दिएको राजीनामा स्वीकार भइनसकेको बताउनुभएको छ । रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री र सुमनासँगै विपिन आचार्य सहमहामन्त्री छन् ।